सुदूरपश्चिममा राजपा विद्रोह

सुदूरपश्चिम प्रदेशबाट राष्ट्रिय जनमोर्चा पार्टी विभाजनको संघारमा पुगेको छ। पार्टीको केन्द्रीय तहले विधि विधानविपरीत कार्य गरेको भन्दै सुदूरपश्चिम प्रदेशका जनमोर्चाका कार्यकर्ताहरुले विद्रोह गरेका हुन्। धनगढीमा प्रदेश स्तरीय दुई दिने भेला गरेर राष्ट्रिय जनमोर्चाका कार्यकर्ताहरूले केन्द्रले विधि विधानविपरीत काम गरेको भन्दै विद्रोहको घोषणा गरेका हुन्। 

धनगढीमा पत्रकार सम्मेलन गर्दै पार्टीको केन्द्रीय तहले निर्माण गरेको प्रदेश कमिटी भंग गरेर नयाँ कमिटी घोषणा गरिएको छ। पार्टी केन्द्रले क्रान्तिकारी राजनीतिक कार्यदिशा स्वघोषित परिवर्तन गरी दक्षिणपन्थी संसदीय राजनीतिक कार्यदिशा अंगीकार गरेको भन्दै आफूहरुले केन्द्रले लादेको प्रदेश स्तरीय कमिटी भंग गर्दै नयाँ कमिटी चयन गरेको पार्टीका प्रदेश सचिव लक्षीराम आचार्यले बताए।  

उनले भने,‘दल विभाजन सम्बन्धी अध्यादेशलाई समर्थन गर्नु, जनचाहना र पार्टीको स्वीकृत राजनीतिक लाइन विपरीत गण्डकी प्रदेशमा पार्टीबाट निर्वाचित सांसदलाई निष्काशित गर्नु पनि पार्टीको गलत लाइन हो।’ गत चैतमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनको सांगठनिक नियमविपरीत प्रदेश कमिटीहरु केन्द्रद्वारा मनोनित गर्ने कार्यले सुदूरपश्चिम प्रदेशका इमान्दार कार्यकर्तालाई पार्टी प्रतिको क्षमता, योगदान र भूमिकाप्रति अवमूल्यन भएको भन्दै फुटको संघारमा पुगेको एक कार्यकर्ताले बताए।

सुदूरपश्चिम प्रदेशका केन्द्रदेखि स्थानीय तहसम्मका पार्टी र जनवर्गिय संगठनका नेतृत्व गरेका नेताहरुको उपस्थितिमा दुई दिनसम्म धनगढीमा छलफल चलेको बताउँदै अखिल छैठौंका केन्द्रीय महासचिव महेशराज जोशीले भने,‘सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सदस्यलगायत जनवर्गिय संगठनका नेताहरु गरेर ९० प्रतिशत हामीसँगै छन्।’  

विद्रोहमा सुदूरपश्चिमका जनमोर्चा नेता–कार्यकर्ता
केन्द्रीय कमिटीले गठन गरेको प्रदेश समिति विघटन
संघसंगठन तथा जनवर्गिय संगठनका बहुमत केन्द्रीय सदस्य लम्साल पक्षमा

केन्द्रीय कमिटीले नन्दराज भट्टको अध्यक्षतामा गठन गरेको सुदूरपश्चिम प्रदेश स्तरीय समितिलाई खारेज गर्दै समितिको बहुमतसहितको भेलाले समितिका तत्कालीन उपाध्यक्ष तथा केन्द्रीय सदस्य लोकेन्द्र लम्साललाई अध्यक्षमा चयन गरेको छ। यस्तै उपाध्यक्षमा तिलक परियार, सचिवमा लक्षीराम आचार्य, सहसचिव हुकुम साउँद, कोषाध्यक्ष केशवनाथ योगीलगायत २३ सदस्यीय समिति चयन भएको हो।

राष्ट्रिय जनमोर्चाका केन्द्रीय महासचिव मनोज भट्टले कैलालीको धनगढीमा भएको जनमोर्चाको भेला अवैध भएको बताएका छन्। उनले नागरिकर्मीसँग कुरा गर्दै भने,‘त्यो भेला अवैध हो, त्यसको कुनै अर्थ छैन।’ केन्द्रीय कमिटीबाट अलग भएर सुदूरपश्चिममा समानान्तर कमिटी बनाउन थालेको उनले आरोप लगाए। उनले भने,‘पार्टीमा कुनै विमति भएर अन्तर संघर्ष गर्नुपथ्र्यो, त्यो नगरेरै सिधै समानान्तर कमिटी गठन गर्नु पार्टीको विधान विपरीत हो।’ सुदूरपश्चिममा जनमोर्चाका केही नेताहरुले फुटपरस्त गतिविधि गरिरहेको उनले आरोप लगाए।

सुदूरपश्चिममा को नेता कता ?  

सुदूरपश्चिम प्रदेशमा प्रदेश अध्यक्ष तथा केन्द्रीय सदस्य लम्साल समूह र केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी समूहमा संगसंगठन बाँडिएका छन्। जनमोर्चाको सुदूरपश्चिम प्रदेशमा रहेका ५ जना केन्द्रीय सदस्य मध्ये तीन जना केन्द्रीय सदस्य लम्साल समूहमा देखिएका छन्। लम्साल समूहमा केन्द्रीय सदस्य तथा प्रदेश अध्यक्ष स्वयम्  लोकेन्द्र लम्साल, केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज लालबहादुर जाग्री र केन्द्रीय सदस्य तिलक परियार रहेका छन् भने केन्द्रीय अध्यक्ष केसी समूहमा महासचिव मनोज भट्ट र केन्द्रीय सदस्य नन्दराज भट्ट देखिएका छन्।  

यस्तै अखिल (छैठौँ) मा सुदूरपश्चिममा केन्द्रीय महासचिवसहित ५ जना मध्ये लम्साल समूहमा ४ जनाले समर्थन गरेका छन् भने एक जना केन्द्रीय सदस्य मात्रै केसी समूहमा देखिएका छन्। अखिल नेपाल युवक संघमा रहेका तीन जना केन्द्रीय सदस्यमा तीनै जनाले लम्साल समूहलाई समर्थन गरेका छन्। महिला संगठनमा रहेका तीन जना केन्द्रीय सदस्य मध्ये दुई जनाले लम्साल समूहलाई समर्थन गरेका छन् भने एक जना मात्रै केसी समूहमा देखिएका छन्।  

अखिल नेपाल किसान महासंघमा सुदूरपश्चिममा रहेका पाँच जना केन्द्रीय सदस्य मध्ये चार जना लम्साल समूहमा गएका छन् भने एक जना केसी समूहमा देखिएका छन्। यस्तै जनमोर्चाकै रक्तिम सांस्कृतिक अभियानमा रहेका चार जना केन्द्रीय सदस्य मध्ये तीन जना लम्साल समूहमा देखिएका छन् भने एक जनाले केसी समूहलाई समर्थन गरेका छन्। सुदूरपश्चिम प्रदेशमा जातिय समता समाजमा रहेका उपाध्यक्षसहित पाँचजना केन्द्रीय सदस्य मध्ये पाँचै जनाले लम्साल समूहलाई समर्थन गरेका छन्।